कोरोनासँग लडाइँमा कोशेढुंगा : बिरामी भएका घरघरमा ‘अक्सिजन सिलिन्डर’

कोरोनासँग लडाइँमा कोशेढुंगा : बिरामी भएका घरघरमा ‘अक्सिजन सिलिन्डर’

कोरोना महामारीको चपेटामा २ नम्बर प्रदेशको जनजीवन प्रभावित भएको छ । कोरोना संक्रमितलाई अस्पतालका संस्थागत आइसोलेसनमा राख्न पर्याप्त ठाउँ नभएपछि लक्षण नदेखिएकालाई होम आइसोलेसनमा राखिएको छ ।

संक्रमितमा लक्षण देखिए वा अवस्था गम्भीर हुँदै गए उपचारका लागि पर्याप्त स्रोतसाधन नभएको बेला ‘क्लोथ बैंक’ धनुषाले नयाँ अभियान थालेको छ । घरमै बसेका संक्रमितमध्ये कोही बिरामी भएमा उपचारका लागि ‘क्लोथ बैंक’ धनुषाका अध्यक्ष राजीब झाले ‘अक्सिजन सिलिन्डर’ घरमै पुर्‍याउने अभियान थालेका छन् ।

अभियान अन्तर्गत संक्रमितको उपचारका लागि निजी क्षेत्रका चिकित्सकको समूहलाई जोडेर उपचार गराउने व्यवस्था मात्र छैन, श्वासको समस्या भए घरमा नै अक्सिजन पुर्‍याउने उद्देश्यले ‘अक्सिजन सिलिन्डर बैंक’ स्थापना गरिएको छ ।

कोरोना संक्रमित बिरामीमध्ये धेरैजसो लक्षणविहीन भएपनि केही बिरामीमा श्वासप्रश्वासको समस्या हुने गरेकाले बिरामीको संख्या बढ्दै गए आगामी दिनमा अक्सिजन सिलिन्डरको समेत अभाव हुनसक्ने परिस्थितिको आकलन गरेर ‘अक्सिजन सिलिन्डर बैंक’ स्थापना गरिएको झा बताउँछन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, प्रहरी उपरीक्षक रमेश बस्नेत समेतलाई संरक्षकको भूमिकामा राखेर यातायात व्यवसायी मनोजकुमार चौधरीको अध्यक्षतामा बैंक व्यवस्थापन समिति गठन गरिएको उनले बताए । अक्सिजन सेवा दिन सिलिन्डरमा लाग्ने ‘बी पाइप’ र ‘सी पाइप’ समेत किनिएको उनले बताए । १ लाख रुपैयाँ मूल्य पर्ने २ वटा पाइपसहित हालसम्म कूल १० वटा सानो सिलिन्डर र १२ वटा ठूलो सिलिन्डर किनेर जिल्ला प्रशासन कार्यालय धनुषामा भण्डारण गरेर राखिएको उनले बताए । हालसम्म २२ वटा सिलिन्डर भए पनि १–२ दिनभित्र ६२ वटा सिलिन्डर आइसक्ने उनले बताए ।

अक्सिजन सिलिन्डरमा लाग्ने मिटर तथा थप उपकरणसहित ठूलो सिलिन्डरको मूल्य १७ हजार ३०० रुपैयाँ र सानो सिलिन्डरको १२ हजार ५० रुपैयाँ पर्ने उनले बताए । ठूलो सिलिन्डरबाट १ जना बिरामीलाई ५ दिनसम्म अक्सिजन आपूर्ति गर्न सकिने तथा सानो सिलिन्डरबाट १ जना बिरामीलाई १ दिनसम्म अक्सिजन आपूर्ति गर्न मिल्ने उनले बताए ।

‘अहिलेसम्म हामीले होम आइसोलेसनमा रहेका जनकपुरका १ जना बिरामीलाई मात्र अक्सिजन सिलिन्डर आपूर्ति गरेका छौं,’ झाले भने, ‘ती बिरामी अहिले निको भएर कोरोनालाई परास्त गर्न सफल भएका छन् ।’

हालसम्म २ नम्बर प्रदेशका ७१ जना कोरोना संक्रमितलाई अभियान अन्तर्गतको चिकित्सकीय समूहले उपचार गरिरहेको उनी बताउँछन् । पर्सामा १९ जना, बारामा २ जना, सर्लाहीमा ४ जना, सप्तरीमा ३ जना, महोत्तरीमा ३ जना, सिराहामा २ जना र धनुषामा ३८ जना कोरोना संक्रमितको उपचार क्लोथ बैंकको हेरचाहमा भइरहेको छ । वरिष्ठ रक्तरोग विशेषज्ञ डा. अजयकुमार झाको संयोजकत्वमा ५१ जना चिकित्सकले होम आइसोलेसनमा रहेका बिरामीको उपचार गरिरहेका छन् ।

‘होम आइसोलेसनमा बसेका बिरामीले हाम्रो व्यवस्थापन समितिलाई आफू होम आइसोलेसनमा रहेको भन्ने कुरा फोन गरेर जानकारी गराउने गर्छन्,’ झाले भने, ‘त्यसपछि बिरामीलाई हामी एउटा चिकित्सकको नम्बर दिन्छौं र चिकित्सकलाई पनि बिरामीको नम्बर दिन्छौं ।’ त्यसपछि बिरामी र चिकित्सकबीच फोनमा र भिडियो कलमार्फत संवाद हुने गर्छ । आवश्यक औषधि तथा परामर्श चिकित्सकले निरन्तर दिने गरेका हुन्छन् । भेन्टिलेटरको आवश्यकता परे वा अत्यन्त सिकिस्त भएका बिरामीलाई कुन अस्पतालमा राम्रो उपचार हुनसक्छ भन्ने सल्लाह समेत चिकित्सकले दिने गरेका छन् ।

‘कोरोना संक्रमितले अस्पतालमा ठाउँ नपाएर भर्ना नहुँदा मनोबल खस्ने तथा मनोविज्ञानमा समेत नकारात्मक असर पर्ने भएकाले कुनै पनि आशा नभएको बेला हामीले उपलब्ध गराउने गरेको चिकित्सकीय परामर्शका कारण धेरै बिरामी घर बसेर नै निको हुन थालेका छन्,’ झाले भने, ‘फोनमा भए पनि परामर्श र औषधिको प्रेस्क्रिप्सन समेत दिएर चिकित्सकले बिरामीको मनोबल उच्च बनाउने काम गर्दा धेरै बिरामीको कोरोना विरुद्धको लडाइँमा हौसला बढेको छ ।’

कोरोना संक्रमित वा अन्य बिरामीलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स नै उपलब्ध नहुने समस्यालाई समेत समाधान गरिएको उनी बताउँछन् । नेपाल रेडक्रस धनुषाको एम्बुलेन्सले मात्र संक्रमित बिरामी बोक्ने गरेका कारण एम्बुलेन्सको अभाव भएको थियो ।

एम्बुलेन्स सञ्चालक, चालक, केही अभियन्ता समेतलाई राखेर समस्या समाधान गरिएको उनले बताए । ‘हामीले एम्बुलेन्स चालकलाई पीपीई उपलब्ध गराउनुका साथै चालकलाई ड्राई फूड, ड्राई फ्रुट सहितको टिफिन दिएर आलोपालो सञ्चालनमा ल्याउने गरी सहमति गरेका छौं,’ उनले भने, ‘एम्बुलेन्स सञ्चालकको तर्फबाट महाशंकर ठाकुर, सुजित पुर्बे, चालकतर्फ अरमान साह, सामाजिक अभियन्ता सरोज राय र क्लोथ बैंकको तर्फबाट मनिष झा श्रीओमलाई राखेर समिति बनाएका छौं ।’ धनुषामा २६ वटा एम्बुलेन्सले कोरोना संक्रमित बिरामीलाई काठमाडौं, धरान, जनकपुर जुनसुकै ठाउँको अस्पतालमा पनि तोकिएको शुल्क लिएर पुर्‍याउने सहमति गरेका छन् ।

कोरोना संक्रमितको उपचार गर्न ‘प्लाज्मा थेरापी’ सहितको उपचारका लागि ‘प्लाज्मा बैंक’ समेत स्थापना गर्ने तयारीमा अगाडि बढेको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा मशिन राखेको भए पनि सञ्चालनमा आएको छैन । ‘हामीले प्रादेशिक अस्पतालका मेसु डा. नागेंद्रप्रसाद यादव, सामाजिक विकास मन्त्री नबल किशोर साह सुडीलाई समेत प्लाज्मा थेरापीको उपचार पद्धतिलाई अगाडि बढाउन आग्रह गरेका छौं,’ झाले भने, ‘कि त सरकारले आफैं मशिनलाई चलाएर सञ्चालनमा ल्याउनुपर्‍यो, नभए मशिन हामीलाई उपलब्ध गराउनुपर्‍यो भनेर भनेका छौं ।’ २ विकल्पमध्ये कुनै न कुनै विकल्पमा १ हप्तासम्ममा प्लाज्मा बैंक स्थापना गरेर प्लाज्मा थेरापीको पद्धतिले कोरोना संक्रमितको उपचार हुने उनले बताए ।

२०७५ पुस २५ गते स्थापना गरिएको क्लोथ बैंकले हालसम्म ५ हजार १०० जना विपन्न व्यक्तिलाई नयाँ कपडा वितरण गरेको छ । तीबाहेक शितलहर, आगलागी, आँधीहुरी सहितको प्रकोप आउँदा पीडित परिवारलाई क्लोथ बैंकले लुगा सहयोग गर्ने गरेको उनले बताए ।

सन्दर्भ

लोकान्तर

Leave a Reply